(यस ब्लगमा प्रकाशित लेखहरुका अतिरिक्त थप जानकारी लिन र भिडियोमार्फत् परीक्षण अवलोकन गर्न चाहनुहुने महानुभावहरुले हाम्रो भिडियो च्यानल Accurate Physics मा गई आवश्यक जानकारी लिन सक्नुहुनेछ)
For Watching Related Experiments, Discoveries And Inventions:
Click Here: Accurate Physics
लेख आरम्भ:-
Accurate Physics
कुनै समयमा एक यस्ता जोशिला वैज्ञानिक थिए जसले आफ्नो फरक विचारका कारण वर्षौँ जेल सजाय भोगे । उनी त्यतिबेलाका दार्शनिक र विचारक पनि थिए । प्रकृतिसम्बन्धी उनको त्यतिबेलाको बुझाइ अरुको भन्दा नित्तान्त फरक थियो । सूर्यलाई ईश्वरीय देन मान्ने र नमान्नेबीचको द्वन्द्वको तात्कालीन चपेटामा उनी पनि परेका थिए । जेल जाने दार्शनिक, जसको जन्म आजभन्दा २५०० वर्षपहिले अर्थात् ईपू. ५०० अथवा विपू. ४४४ मा भएको थियो । उनको मृत्यु हुँदाको वर्षमा महान् दार्शनिक तथा वैज्ञानिक प्लेटोको जन्म भएको मानिन्छ । ती वैज्ञानिकको नाम थियो, एनाक्सागोरस । उनले त्यतिबेला भनेका र स्वीकार गरेका कतिपय कुराहरु आजसम्म पनि अध्ययनको विषय बनेका छन् भने कुनैकुनै कुराहरुचाहिँ आजको युगसम्म आइपुग्दा त्रुटिपूर्ण साबित भइसकेका छन् ।
यो ब्रहमान्डको रचयिता को हो ? अथवा सृष्टिकर्ता को हो ? आजमात्र होइन, मानवजातिले यी प्रश्नहरुको उत्तर युगौँदेखि सोच्दै र खोज्दै आएको छ । आज पनि मानिसहरु यस विषयमा फरकफरक सम्प्रदायका धारणाहरुबाट ग्रस्त छन् । परम्परामा आधारित विचारहरुबीच परस्परमा विवाद हुने गर्दछ । एनाक्सागोरसको समयमा पनि यस खालको विवाद हुने गर्दथ्यो । उनी नित्तान्त निरीश्वरवादी थिए । यो सबै वस्तुको रचना कुनै अलौकिक शक्ति वा रहस्यात्मक विषयबाट भएको होइन भन्ने उनलाई लागेको थियो । यस अर्थमा उनी ठीकै भएको आजका वैज्ञानिकहरुले पनि स्वीकार गर्दछन् । तर उनले दिएको परिकल्पना र समाधानको उपाय भने निकै आपत्तिजनक भएका कारण उनलाई जेल पठाइएको थियो ।
एनाक्सागोरसको विचारमा यो ब्रह्मान्डको रचना सूक्ष्म कणहरुबाट भएको हुनुपर्छ भन्ने थियो । वर्तमान समयका वैज्ञानिकहरु पनि यस विचारबाट टाढा भएको देखिँदैन । सूक्ष्म कणहरु असंख्य हुन्छन्, यसको कुनै लेखाजोखा सम्भव छैन भन्ने धारणा उनको थियो । उनको यस विचार आज पनि उत्तिकै स्वीकार्य र विश्वसनीय मानिन्छ । उनले यीनै कणहरुको योग वा संयोजनबाट संसारमा देखिने र बोध गर्न सकिने स्वरुप वा भौतिक पदार्थको निर्माण भएको हुन्छ भन्ने मान्दथे । उनका लागि एकमात्र विश्वास र आधार भनेका सूक्ष्म कणहरु थिए, परलौकिक शक्तिहरु थिएनन् । भौतिक सोचाइका आधारमा जीवन र जगत्लाई बुझ्ने त्यतिबेलाका विभिन्न वैज्ञानिक र दार्शनिकमध्येका एक उनी पनि थिए ।
भौतिक पदार्थहरुको निर्माण कसरी हुन्छ ? भन्ने कुराको खोजी गर्दै जाँदा उनले केही अशोभनीय कल्पनाहरु पनि गरेका थिए । जुन कल्पना न त त्यतिबेला स्वीकार्य भए न त आज नै स्वीकार्य छन् । उनका तीनै परिकल्पनात्मक भनाइका कारण उनले वर्षौँ जेल सजायँ भोग्नु परेको थियो । उनलाई जेल पठाउने उनको त्यस्तो एउटा भनाइ थियो, सूर्य एउटा तातो ढुङ्गोमात्र हो र चन्द्रमा पृथ्वीबाट बनेको वस्तु हो । यस भनाइअनुसार सूर्य कुनै नसेलाउने गरी तातेको ढुगाें थियो । यही भनाइका कारण उनले धेरै वर्षसम्म जेलजीवन बिताउनुपरेको उल्लेख भएको पाइन्छ ।
चन्द्रमालाई आज पनि पृथ्वीको उपग्रह मानिन्छ । सूक्ष्म कणहरु नै यो सारा ब्रह्मान्डको निर्माणको आधार हुन् र ईश्वर आदि यसका रचयिता हुन सक्दैनन् भन्ने कुरामा आजको विज्ञानले पनि सहमति जनाएको देखिन्छ । त्यतिबेलाको समयमा सत्यता उजागर गर्न रहस्यवादी विचार धेरै नै मात्रामा बाधक थियो । यसका लागि उनले गरेको प्रयासबाट मानवजातिलाई ब्रह्मान्डको संरचनाका लागि वस्तुगत आधारमा खोजी गर्न सहयोग पुगेको र हिम्मत जुटेको थियो । आफ्नो फरक विचारका कारण वर्षौँसम्म जेल सजाय भोग्ने एक वैज्ञानिक, विचारक तथा दार्शनिकका रुपमा एनाक्सागोरसलाई पनि हामीले बिर्सन मिल्दैन ।
By: Bhabindra Kunwar
No comments:
Post a Comment