Sunday, October 20, 2024

समय (Time)

समय सन्दर्भका बीचको अवधि ।

एसआई एकाइ सेकेन्ड । 

आयामिक सूत्र M^0L^0T^1 हुन्छ । 

समयको इतिहास हुँदैन । यसको उत्पत्ति, विकास र अन्त्य हुँदैन । तर समय अस्तित्वमा भएको थाह पाउने कार्य भने निकै पछि भएको हुनुपर्छ । समय पत्ता लागेपछि वा थाह पाउन थालेपछि सुरुमा त्यो कति हुन्छ भनेर मापन गर्न वर्ष, ऋतु वा महिना आदि एकाइको कल्पना भएको हुन सक्छ । सुरुसुरुमा कुनै दृश्यात्मक घटनाको पुनरावृत्तिलाई आधार मानेर घटनाकै आधारमा समयलाई परिभाषित गरिएको हुन पनि सक्छ । जस्तो कि एउटा बिहानपछि फेरि अर्को बिहान आउन लाग्ने अवधिलाई समय मापनको आधार मानिएको हुन सक्छ र समय भनेकै एउटा बिहानदेखि अर्को बिहानसम्मको अवधि हो भन्ने मानिएको हुन पनि सक्छ । तर जब एउटा बिहानदेखि अर्को बिहानसम्मको अवधि, पानी घडी वा अन्य कुनै घडीले, रेकर्ड गर्दा नै समान नहुने स्थिति फेला पर्छ तब समय घटनामा आधारित हुने विषय होइन रहेछ भन्ने सोँचको विकास भएको हुन सक्छ । समय पदार्थको स्थिर वा गतिशील चरित्रमा भर पर्ने विषय होइन भन्ने थाह भएको हुन सक्छ । यसबाट समय कुनै उत्पत्ति, इतिहास वा विकास हुने कुरा होइन बरू मापन गर्न सकिने भौतिक विषय हो भन्ने थाह भएको हुन सक्छ । 

समय पनि लम्बाइ र पिण्डजस्तै अनादि र अनन्त भौतिक परिमाण हो । जसरी हाम्रो थाह पाउनु र नपाउनुसँग लम्बाइ र पिण्डको सरोकार हुँदैन त्यसरी नै समयले पनि हाम्रो जान्नु र नजान्नुसँग कुनै सरोकार राख्दैन । संसारमा थाह पाउने मानिस वा अन्य प्राणी नै नभए पनि समय हुन्छ । यो घडी, पात्रो जस्ता मापक साधन र तिनका मापिकामा भर पर्ने विषय होइन । जसरी मिटर, फिट, हात वा इन्च जस्ता एकाइ र ती एकाइ पहिल्याउन प्रयोग गरिने यन्त्र वा साधन नै नभए पनि लम्बाइको अस्तित्व हुन्छ र पाउ, धार्नी, पाउन्ड, ग्राम वा किलोग्राम नै नभए पनि पिण्डको अस्तित्व हुन्छ त्यसरी नै घडी, पला, कला, काष्ठा, पल, सेकेन्ड, मिनेट, घण्टा, दिन, वर्ष, प्रकाशवर्ष जस्ता एकाइ अथवा घामे घडी, प्रकाशे घडी, पानी घडी, भित्ते घडी, हाते घडी, पारमाणविक घडी, डिजिटल घडी जस्ता उपकरण भए पनि अथवा नभए पनि समयको अस्तित्व समान प्रकृतिको हुन्छ । यसको अर्थ के हो भने समय कुनै मानव मनको निर्माण होइन । मानव बुद्धिले पत्ता लगाएको स्थिर भौतिक परिमाण हो । 

मानव चेतनाको विकाससँगै समय मापन गर्ने आधार र मापिकामा विकास हुन पर्ने देखिन आएको हुन सक्छ । यही चरणमा आएर बल्ल मानिसले समयको बुझाइ सही रूपले गर्न पुगेको हुन सक्छ । जस्तो कि कुनै घटना दोहोरिनु वा नदोहोरिनुसँग समयको सरोकार नहुने रहेछ । बिहानपछि आउने बिहानको समयदुुरी वा समयान्तराल वा अवधि समान नहुने भए पदार्थ र यिनका गुणबाट समयलाई अलग गर्नुपर्छ भन्ने सोँच मानवजातिमा आएको हुनुपर्छ । वस्तुको गति, स्थिरता, परिवर्तन वा अपरिवर्तनले समयलाई कुनै प्रभाव पार्ने रहेनछन् बरू समयको सन्दर्भविन्दुमा गति, स्थिरता, परिवर्तन वा अपरिवर्तन थाह पाइने रहेछ भन्ने कुरा मानवजातिले बुझेको हुनुपर्छ । यही बुझाइ नै निरपेक्ष र भौतिक समयको बुझाइ थियो । 

समयको मापन गर्न कुनै बेला प्रकाश र छायालाई आधार मान्ने चलन थियो । त्यो एक समयको कमचलाउ विधि हुन सक्छ । त्यसपछि तरल पदार्थ वा पानीलाई आधार मानेर गुरुत्वको प्रभाव र भाँडोको आकारको हेक्का राखेर पानीघडीबाट घडीपला छुट्ट्याउने प्रचलन पनि थियो । बालुवाघडी पनि बने । यही पृष्ठभूमिमा मेशिनका रूपमा घडीको आविष्कार पनि उदायो । आणविक र डिजिटल घडीहरू पनि प्रयोगमा आए । यस्तै लहरमा कतिपयले गति तीव्र हुँदा समय नै ढिलो चल्ने भन्ने गरेको पनि पाइन्छ । यी सबै आधारहरू समयका जन्मदाता वा नियामक होइनन् । यी त लम्बाइ नाप्न बनेका मिटरका लठ्ठीजस्तै सहयोगी सामग्री मात्र हुन् । यी घडी वा पदार्थ नै नभए पनि समय हुन्छ । यी घडी छिटो चले पनि ढिलो चले पनि समय निरपेक्ष र स्थिर रहन्छ । पहिले समय भन्ने विषय मापन गर्न उपकरण बनाएको मानिसले उपकरणमा भर परेर उपकरण नै समयको नियामक र जन्मदाता हो भन्दा समस्या खडा हुन्छ । त्यसैले समयलाई बुझ्न समय र समय मापन गर्न प्रयोग गरिने औजार, पदार्थ वा विषयलाई अलग गर्नुपर्ने हुन आउँछ । 

पदार्थलाई आधार मान्ने हो भने कुन पदार्थलाई आधार मान्ने ? गति, स्थान वा कोण बदलिने ताराका प्रकाशलाई आधार मान्ने हो भने कुन ताराको प्रकाशलाई आधार मान्ने ? सबैभन्दा स्थिर रहने भनिएको पदार्थलाई आधार मान्ने हो भने पनि त्यो पनि ग्रहको घुमाइ वा गति वा पदार्थीय इनर्सिया वा आन्तरिक क्रियाप्रतिक्रियाका कारण परिवर्तन हुन सक्छ । तसर्थ समय बुझ्नका लागि सबैभन्दा पहिले समय भनेको के हो भनेर विसङ्केतन गर्न सक्नुपर्छ नत्र आधारभूत बुझाइबिनै अनेकन बुझाइ र व्याख्या गर्न सकिने खतरा रहन्छ । 

भौतिक विज्ञानमा कुनै पनि आधारभूत भौतिक परिमाण कुनै पनि तत्जन्य भौतिक परिमाणबाट प्रभावित हुँदैनन् । त्यसो भयो भने त समयलाई आधारभूत परिमाण भनेर गतिको निर्माण गर्ने अनि गतिको तिरिमिरीमा अल्झिएर फेरि आधारभूत परिमाण बदल्ने क्रम चल्न सक्छ । खासमा गतिमा हुने परिवर्तन वा स्थिरताले समय र लम्बाइलाई कुनै प्रभाव पार्दैन । गति बढ्नु भनेको कम समयमा धेरै दुरीको यात्रा गर्नु हो । त्यसमाथि पनि अति तीव्र गति नै पहिल्याउन अलमलिनुपर्ने विषयका आधारमा वास्तविक समयलाई वर्णन गर्दा वैज्ञानिक अभ्यासमाथि चुनौती खडा हुन्छ । कुनै वस्तुले लम्बाइ छिटो पार गरे पनि ढिलो पार गरे पनि अथवा पारै नगरे पनि समयावधि स्थिर भएर चलिरहेको हुन्छ । जस्तो कि रबर लम्बिँदैमा भौतिकीको लम्बाइ लामो हुने होइन, रबरको लम्बाइ लामो हुने हो ।  

वस्तु स्थिर अवस्थामा रहँदा समयलाई जसरी यही हो भनेर ठम्याइन्छ त्यसरी नै द्वैध मानसिकता नराखेर त्यही कुरा नबिर्सने हो भने समय के हो भनेर ठम्याउन अलमल हुँदैन । त्यसैले समयको एकाइ मापन गर्दा घडीको सहारा लिए पनि घडीकै आधारमा समयको अस्तित्व र अनस्तित्वको कुरा गर्नु हुँदैन । घडीलाई नै समयको नियामक आधार बनाउनु हुँदैन । समयलाई स्थिर रूपले मापन गर्न नसक्ने घडी वा साधनलाई नै सुधार वा परिवर्तन गर्नुपर्नेमा साधनको कमजोरीका आधारमा समयलाई सुधार गर्ने कुरा विज्ञानका दृष्टिले सही देखिँदैन । 

हिजो मानवजातिले घामको छायाले दिने समयको जानकारी गलत भएको थाह पायो । पानी घडीले दिने समय अव्यवस्थित भएको थाह पायो । अब तत्जन्य परिमाणका आधारमा आधारभूत परिमाणलाई व्याख्या गर्दा हुने गल्ती थाह पाउने छ । पदार्थमा भर परेर पदार्थका चालवमोजिम समयको मापन गर्ने सोँचाइबुझाइमा भएको गल्तीलाई पनि थाह पाउने छ । समयको वस्तुगत र वास्तविक बुझाइको चरणमा आउने छ ।

                                                                       -Dr. Bhabindra Kunwar

No comments:

Post a Comment

शास्त्रीय भौतिक शास्त्रका केही समीकरणहरूमा दुर्यान्तर र प्रदुर्यान्तरको प्रभाव

(यो लेख नयाँ लेख नभई मिति २०१७ जुलाई ७ मा 'भौतिक विज्ञान' नामक ब्लगमा प्रकाशित भइसकेको लेख हो । यस लेखका शब्दकुञ्जीहरू दुर्यान्तर, प...